कुरिनटार, १ पौष । इच्छाकामना गाउँपालिकामा रहेको उद्योगहरुमा औद्योगीक सुरक्षा स्टिकर टांसिएको छ ।सशस्त्र प्रहरीसँगको सहकार्यमा चितवन उद्योग संघले आज गाउँपालिका भित्र रहेका उद्योगहरुमा सुरक्षा स्टिकर टांँस गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी ,उद्योग संघ इच्छाकामनाका अध्यक्ष अम्बर बहादुर अधिकारी सुरक्षा निकायका प्रतिनिधि उद्योगी व्यवसायी र पत्रकारहरुको उपस्थितिमा भानुग्याँस उद्योग प्रालिको गेटमा औद्योगिक सुरक्षा स्टिकर टाँसेर सुरु गरिएको हो ।
साथै आज नै उद्योग संघ इच्छाकामनाको कार्यालय उद्घाटन गरिएको छ । गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रिवन काटेर इच्छाकामना ४ कुरिनटारमा कार्यालय उद्घाटन गर्नुभएको हो ।


कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष कृति कुमार श्रेष्ठले उद्योग संघका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले उद्योग संघका लागि गाउँपालिकाले रु पाँच लाख समेत विनियोजन गरिएको जानकारी दिनुभयो ।
साथै उपाध्यक्ष श्रेष्ठले उद्योग भित्रका उद्योगहरुको सुरक्षा र लगानीमैत्री वातावरण बनाउन गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले व्यवसायीलाई उद्योग सञ्चालन गर्न कस्तो वातावरण चाहिएको त्यस्तै वातावरण दिन तयार रहेको बताउनुभयो ।
उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले स्थानीय तहसंग सहकार्य गरि उद्योगहरु स्थापना गर्ने रोजगार र राजश्व वृद्धि गर्ने लगायतका उदेश्यका साथ हरेक स्थानीय तहमा उद्योग संघ इकाई स्थापना गरिएको बताउनुभयो । साथै उहाँले उद्योगहरुमा आगलागी, हुलदङ्गा, मजदुरबीचमा द्वन्द्वलगायतका समस्या पर्ने भएकाले समस्या समाधानको लागि प्रहरीलाई खबर गर्न सक्ने गरी फोन नम्बर र अपनाउनुपर्ने सतर्कतासहितको स्टिकर उद्योगको मूल गेटमै टाँस्ने कार्यक्रम गरिएको बताउनुभयो ।


औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडाले उद्योगहरुमा कुनै विपद् आइपरेमा सबै भन्दा पहिले शसस्त्र प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । उहाँले तत्काल शसस्त्र प्रहरीलाई खबर गरेमा क्षती कम गर्न सकिने विपद्बाट बचाउन सकिने बताउनुभयो । नजिक रहेको सुरक्षा निकायमा फोनगरि जानकारी दिन सकिने उहाँले बताउनुभयो ।
उद्योग संघ इच्छाकामना इकाइका का अध्यक्ष अम्बर बहादुर अधिकारीले इच्छाकामनामा रहेका उद्योगहरुको संरक्षण गर्न उद्योगहरुमा आइपर्ने समस्याहरुको समाधान गर्न, र यहाँ कस्तो प्रकारको उद्योग संचालन गर्न सकिन्छ ,छलफल र अनुसनधान गरि थप उदोग स्थापना गर्ने र प्रोत्सहान गराउन इच्छाकामना उद्योग संघ स्थापना गरिएको बताउनुभयो ।