काठमाडौं,१९ मंसिर । देशभर चिसो बढेको छ । काठमाडौं उपत्यकामा आज बिहीबार बिहान साढे ६ बजे मापन गरिएको तापक्रम ५।५ डिग्री सेल्सियस छ । बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ३ डिग्री तापक्रम घटेको हो । त्यसैले बिहीबार बिहान बढी चिसो महसुस भएको छ ।
सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ । चिसो बढ्ने क्रम जारी रहने मौसमविद गंगा नगरकोटीले बताइन् ।
तराई मधेशका जिल्लाहरुमा हुस्सु लागेकाले त्यहाँ पनि चिसो महसुस भएको छ । बिहानपख पूर्व, मध्य र पश्चिम तराईका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ ।
हुस्सु र कुहिरोको कारण भिजिबिलिटी पनि कम भएको छ । यो हुस्सु र कुहिरो मध्याह्नपछि बिस्तारै हट्दै जाने मौसम विज्ञान विभागले जनाएको छ ।
मौसमविदहरुले पश्चिम तराईमा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुर जिल्लालाई राखेका छन् ।
यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी जिल्ला छन् । महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला पूर्वी तराईमा पर्दछन् ।
आगामी २४ घण्टासम्म शितलहरको सम्भावना भने नरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।