काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले उपनिर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ। यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ।

‘बैठकमा उपनिर्वाचनका विषयमा जानकारी गराइएको थियो। हामीलाई भएको सामान्य जानकारी अनुसार कहीँ अन्तर्घात भएको छैन,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। तर, सचिवालयले यस विषयमा औपचारिक निर्णय गर्न सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुको समिक्षा कुर्ने भएको छ।

दाङको एक वडामा विद्रोही उम्मेदवार उठेर जितेकोमा त्यही बेला कारबाही भइसकेको उनले जानकारी गराए। पार्टी सदस्यबाट निष्काशित गरिसकेकाले सचिवालयले त्यस विषयमा थप निर्णय गर्नु नपरको उनले बताए।

सचिवालयको बैठक आगामी २३ गते बिहान ९ बजे तय गरिएको छ। आफ्नो ठाउँको उपनिर्वाचनको समिक्षा त्यसअघि नै पठाइसक्न निर्देशन दिने निर्णय सचिवालयले गरेको छ। प्रवक्ता श्रेष्ठले भने, ‘उपनिर्वाचनका विषयमा औपचारिक निर्णय त्यही बैठकमा हुनेछ।’

आगामी बैठकमा पार्टीको कार्ययोजनाका साथै स्थायी र केन्द्रीय कमिटीको बैठकको समेत टुंगो लगाइने भएको छ।

बैठकले प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा आइरहेको सुधारप्रति प्रशन्नता व्यक्ति गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।