कुरिनटार :  चितवन । शनिबार भएको स्थानीय तहको उपनिर्वाचनमा चितवनको तीन वटै वडामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ मा नेपाली काँग्रेसका उम्मेदवारले विजयी प्राप्त गरेका हुन् ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली काँग्रेसका उम्मेदवार अमृत हमाल विजयी भएका छन् । हमालले तीन हजार एक सय ८३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम सत्तारुढ नेकपाका भक्तराज हमालले दुई हजार आठ सय ७५ मत मात्रै प्राप्त गरेका छन् ।
यसअघि भरतपुर १६ मा तत्कालिन नेकपा एमालेका उम्मेदवारले ६३ मतको फरकमा नेपाली काँग्रेसका उम्मेदवारलाई हराएका थिए । यस पटक दुई कम्युनिस्ट पार्टी एक भएर उम्मेदवारी दिएका भए पनि नेपाली काँग्रेसका उम्मेदवारले तीन सय आठ मतको भारी मतान्तरले जीत निकालेका हुन् ।
त्यस्तै खैरहनीको वडा नम्बर ४ र वडा नम्बर ५ मा समेत नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । खैरहनी ४ मा नेपाली काँग्रेसका उम्मेदवार देबबहादुर बस्नेतले एक हजार एक सय ३८ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार बेदबहादुर अधिकारीले नौ सय ८६ मत मात्रै प्राप्त गरे ।
त्यस्तै खैरहनी वडा नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार प्रतिमा कार्कीले आठ सय ४२ मत प्राप्त गरेर विजयी हुँदा सत्तारुढ नेकपाका उम्मेदवार पननारायण प्रधानले सात सय ५६ मत मात्रै प्राप्त गर्न सफल भए । हिजो भएको मतदानको मतगणना राती नै गरेर सकिएको हो ।
भरतपुर १६ को मतगणना चितवन जिल्ला अदालत परिसरमा गरिएको थियो भने खैरहनी वडा नम्बर ४ र ५ को मतगणना इलाका प्रहरी कार्यालय खैरहनीको नजिकै साविकको खैरहनी नगरापलिकाको कार्यालयमा गरिएको थियो ।