
राजेन्द्र न्यौपाने
गोरखा, १३ मंसिर । गोरखा निर्वाचन क्षेत्र नं १ का सांसद हरीराज अधिकारीले वन्यजन्तुहरु घरमा पालेर व्यावसायिक उत्पादन गर्नुपर्ने बताउनुभएको छ । उत्तरी गोरखाको विकासका बारेमा नेता अधिकारीलाई सोधिएको प्रश्नहरुको उत्तर दिने क्रममा उनले भने , “बनमा हिँड्ने पशु वस्तुहरु घरमा ल्याएर पाल्नका लागि किसानहरुलाई उत्साहित गर्नुपर्छ रतुवा, घोरल लगायतका पशु किसानहरुले घरमा पाल्न सक्छन यसबाट उत्तरी क्षेत्रको विकासमा नयाँ चरणको सुरुवात हुन्छ ।”
वनमा डराएर बसेका जनावरहरुलाई घरमा ल्याई व्यवस्थितसँग पाल्दा जनावरको पनि सुरक्षा हुने र पर्यटन विकासमा टेवा पुग्ने उनको भनाई छ । यसबारेमा बन मन्त्रालयमा कुरा भएको उनले बताए । विभिन्न जातका पशुहरु खरिद गर्नका लागि ठूलो मात्रामा स्वदेशी रकम विदेश गएको छ, वर्ग मिल्ने पशुहरुको क्रसबाट यहाँ नै सो जातका पशुहरु उत्पादन गर्न सकिने भएपनि सबैको ध्यान त्यता पुग्न नसेकेको उनले बताए ।
नेपालमा अहिले समूह, सहकारी, व्यक्तिगत फर्महरुले बारबारी, बोयर लगायतका जातका बाख्रा फर्महरु खोलेर व्यवसाय सञ्चालन गरिरहेको र त्यसका लागि चाहिने व्याड, पाठापाठी स्वदेशमा नै उत्पादन गर्न सकिने भएपनि विदेशबाट आयत गर्नुपर्ने बाध्यता रहँदै आएको उनले बताएका हुन ।