कुरिनटार : प्रहरीको नियन्त्रणमा रहेका सैनिक जवानको मृत्यु भएपछि त्यसको विरोधमा फिस्लिङमा स्थानीयवासीले अवरुद्ध गरेको पृथ्वी राजमार्ग तीन घण्टापछि दिउँसो ३ बजे खुलेको छ । इच्छाकामना गाँउपालिका ५ मुग्लिन घर भएका सैनिक जवान २८ वर्षीय राम कँडेलको प्रहरी नियन्त्रणमै मृत्यु भएपछि स्थानीयले मध्याह्न १२ बजेदेखि राजमार्ग अवरुद्ध पारेका थिए ।
स्थानीय, आफन्त र प्रहरीबीच घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने सहमति भएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले राजमार्ग खुलेसँगै जाममा रहेका सवारीसाधन गन्तव्यतर्फ लागेको र अवस्था सामान्य बन्दै गएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
नेपाली सेनामा कार्यरत कँडेललाई फिस्लिङ प्रहरीले पक्राउ गरेको थियो ।
प्रतक्ष्य दर्शीका अनुसार मेलाबाट फर्कने क्रममा अस्थाई प्रहरी पोष्टमा कार्यरत एक प्रहरी जवानसं गाडीमै झगडा परेका थिए । उक्त गाडी चालक सानुबाु थापाका अनुसार फिस्लिङ ओर्लिएपछि कडेँललाई सोधपुछका लागि भन्दै प्रहरी पोष्ट भित्र लगेका थिए । केडेँलका साथीहरु बाहिर कुरिरहेका थिए । बाहिर नआएपछि कडेँललाई नियन्त्रणमा लिने प्रहरीले भाग्दा प्रहरी पोष्ट रहेको भवनबाट तल लडेको जानकारी गराएका थिए । प्रहरी पोष्ट भवनबाट खसेको भनिएका कडेँल अचेत अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो ।

 

प्रहरीले भने चौकीबाट भाग्न खोज्दा अस्थायी प्रहरी पोष्ट फिस्लिङको भवनको दुई तला माथिबाट खसे र मृत्यु भएको बताएका छन् ।
सामान्य विवादपछि प्रहरी नियन्त्रणमा पुगेका कँडेलको रहस्यमय ढंगबाट मृत्यु भएको स्थानीयवासीको आरोप छ ।

 

प्रकाशित मिति: Nov 11, 2019