
काठमाडौं : आज उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने तयारी गरेको छ। उपनिर्वाचनको कार्यतालिका अनुसार आज प्रतिनिधिसभा र प्रदेशसभाका लागि मनोनयन पत्र दर्ता गएका मध्येका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको हो।
प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ता गराएको थियो। प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आयोगले शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उजुरी दिने समय निर्धारण गरेको थियो। आयोगले २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी उम्मेदवारहरूको नामावली प्रकाशन गरिसकेको छ। आज उम्मेदवारी फिर्ता लिने समय दिएको आयोगले यो सकिएलगत्तै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले जनाएको छ।
विभिन्न कारणले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी मनोनयन कात्तिक २१ गते नै भइसके पनि स्थानीय तहको मनोनयन कात्तिक २७ का लागि तय गरिएको छ।