कुरिनटार :  आज हरिबोधनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र ब्रत बसी मनाइँदैछ । ब्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमिनमुनि फलेका खाने कुरा खाने गर्दछन् ।
असार शुक्ल एकादशीमा शीर समुद्रमा शयन गरेका भगवान विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरि आजको दिन बिउँझन्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ । चितवनको देवघाट, सुन्दरबस्ती, सानो गढी, नारायणगढको नदी किनार, नवलपरासीको पिठौली, सिख्रौली, काठमाडुका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरहरुको बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
आज बराह क्षेत्रमा विशेष मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ । असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । आजका दिन तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर विवाह गरिदिने चलन छ ।