
चितवन : व्यवस्थापिका संसद अन्तरगतको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले चितवनमा ग्रामिण विद्युतीकरणको काम तीव्र गतिमा बढेको बताएका छन् । जिल्लाको विकट क्षेत्रका रुपमा लिइएका ईच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका केही वडामा समेत विद्युत पु¥याउने प्रयास भइरहेको पोखरेलले बताए ।
नेपाल पत्रकार महासंघ चितवनले सोमबार भरतपुरमा गरेको सांसदसँग सम्वाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले आफ्नो कार्यकालमा चितवनका सबै ठाउँमा विद्युत पु¥याउने लक्ष्यका साथ अगाडि बढेको बताए । सुशासनका सवालमा सकारात्मक प्रयासहरु भैरहेकाले जनतासँग भएका प्रतिवद्धताहरु पुरा हुने उनको विश्वास थियो । विद्युतीकरणका लागि बाँकी रहेका सिद्धीका केही ठाउँमा समेत टेन्डरको प्रकृया सुरु भइसकेको पोखरेलले बताए ।
सम्वाद कार्यक्रममा समितिका सभापति पोखरेलले सरकारले गरेको प्रदेश प्रमुखहरुको पदमुक्तलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । प्रदेश प्रमुखहरु सरकारको प्रतिनिधिको रुपमा नियुक्ति भएकाले उनीहरुलाई सरकारले आफ्नो अनुकुलता वा प्रतिकुलतामा फेरवदल गर्नसक्ने पोखरेलले स्पष्ट परेका छन् । संविधानमा भएको ब्यवस्था अनुसार सरकारले स्वभाविक रुपमा प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको पोखरेलले बताए ।
यसैबीच, सांसद पोखरेलले पत्रकार महासंघ चितवन शाखाको निर्माणधीन तालिम हलको निरीक्षण गर्दै त्यसको निर्माणमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको थियो ।