कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकामा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको विकास का लागि सहयोग र सहकार्य (हेल्पकोड नेपाल)ले हेलपकोट इटालीको सहयोग तथा इच्छाकामना गाउँपालिकाको समन्वयमा चेपाङ महिलाहरुका लागि सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न समुदायमा रहेका चेपाङ महिलाको अधिकार सुनिश्चित गर्नका लागि त्यस सम्बन्धी कानुनी व्यवस्थाहरुको बारेमा जानकारी गराउन सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको हेल्पकोड नेपाल इच्छाकामनाका संयोजक शिला देवकोटाले बताउनुभयो । कार्यक्रममा चेपाङ जनप्रतिनिधि महिला तथा पुरुष, चेपाङ महिला प्रतिनिधि, विद्यलाय व्यवस्थापन समिति, टोल सुधार समिति र छात्राहरु सहभागी थिए ।
जिल्ला बार एसोयिसन चितवनका सदस्य कृष्णप्रसाद पन्त सचेतना अभिवृद्धि कार्यक्रमको प्रशिक्षक रहनुभएको थियो ।
सचेतना अभिवृद्धि कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका प्रवक्ता सावित्रि गुरुङले हेल्पकोड नेपालले शैक्षिक तथा सामाजिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । प्रवक्ता गुरुङले पीछडीएका चेपाङ समुदायका महिलाहरुलाई आफ्नो अधिकारबारे सम्वन्धी कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने महत्वपूर्ण कार्य गरेकोमा धन्यावाद दिदैँ आगामी दिनहरुमा यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । साथै उहाँले गाउँपालिकाले यस्ता अभियानलाई साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वडाअध्यक्ष भूपेन्द्र चेपाङले आफ्नो हक अधिकार र कानुनी व्यावस्थाबारे चेपाङ समुदाय अझै पनि अनविज्ञ रहेको बताउनुभयो । यस कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यावाद दिनुभयो ।
तालिममा सहभागी छात्रा लक्ष्मी प्रजाले महिलाहरुकोे हकअधिकार बारे कानुनमा उल्लेख गरिएका विषयवस्तुका बारेमा जानकारी पाउने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो । सबै चेपाङ महिलाहरुमा यस्ता कार्यक्रम लैजानु पर्नेल लक्षमी प्रजाको भनाई छ ।
गाउँपालिका प्रवक्ता सावित्रि गुरुङ, वडा नम्बर २ काअध्यक्ष पञ्च हादुर चेपाङ र वडा न ६ का अध्यक्ष भूपेन्द्र चेपाङ लगायतको आतिथ्य तथा सर्वशान्ति मावि कुरिनटारका प्रधानाध्यापक जोहन खरेलको अध्यक्षतामा सर्वशान्ती माविको सभाकक्ष हलमा कार्यक्रम सम्पन्न भएको हो ।
हेल्पकोड नेपाल इच्छाकामनाका सहायक विकास चेपाङले कार्यक्रम संचालन गर्नुभएको थियो ।
हेल्पकोड नेपालले सन् २०१६ देखि विद्यालय तथा समुदायमा शिक्षा स्वास्थ्य तथा जिविकोपार्जन सम्बन्धि विभिन्न खालका कार्यक्रमहर सञ्चालन गर्दे आईरहेको छ । हाल काठमाडौँ, चितवन, र मकवानपुर गरि तीन वटा जिल्लामा गुणस्तरीय शिक्षा सम्बन्धि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यस संस्थाले इच्छाकामना गाउँपालिकामा चार वटा वडा अन्तरगत ११ वटा विद्यालयमा पहिलो चरणमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरि हाल सन् २०१९ देखि २०२३ को पाँच बर्षे कार्यक्रमहरु यस इच्छाकामना गाउँपालिकासग समन्वय गरि संचालन गर्दै आईरहेको छ ।
यस कार्य क्षेत्रमा हेल्पकोड नेपालले विद्यार्थीहरुलाई पोषाक, स्टेशनरी सामाग्री ,बालविकासका बालबालिकाहरुलाई पोषाक सहयोग, बालविकास व्यवस्थापनका सामाग्री सहयोग, विभिन्न बिद्यालयमा खानेपानी व्यवस्थापन तथा शौचालय मर्मत कार्यक्रम विभिन्न सचेतनामुलक तालिमहरु संचालन गर्दै आएका छन् ।