कुरिनटार,६ कात्तिक । नेपालको पहिलो केवलकार मनकामना केवलकारले वार्षिकोत्सबका अवसरमा विभिन्न उपहार योजना ल्याएको छ।

एक महिनासम्म चल्ने यो योजनामा केवलकार चढ्ने सेवाग्राहीले विभिन्न उपहार पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पहिलो उपहार ४३ इन्चको एलजी स्मार्ट टिभी, दोस्रो उपहार ३२ इन्चको स्मार्ट टिभी र तेस्रो पुरस्कार सामसङ मोबाइल छ। कम्पनीका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले २१औं वार्षिकोत्सवका अवसरमा यात्रुलाई सम्मान गर्ने उदेश्यले ‍उपहार योजना ल्याएको बताए।

विहिबारदेखि कार्यान्वयनमा आउने यो योजना मंसिर ७ गतेसम्म लागु हुनेछ। उनका अनुसार मंसिर ८ गते वार्षिकोत्सवका अवसरमा लक्की ड्रमार्फत विजेता घोषणा गरिनेछ।

यो योजनामा चितवन कोईका कर्मचारी, विदेशी नागरिक, स्थानीय वासिन्दा र बालबालिकाको टिकटमा भने लागु नहुने कम्पनीले जनाएको छ। २० वर्ष अघि संचालनमा आएको यो केवलकारमा डेढ करोडले यात्रा गरिसकेका छन्।