
चितवन : चितवनबाट काठमाडौँका लागि छुट्ने सवारी साधनहरुले यात्रुसँग मनपरी रुपमा भाडा असुली गरिरहेका छन् । दशैँ बिदा मनाएर नारायणगढबाट काठमाडौँ फर्किने यात्रुहरुसँग यहाँबाट सञ्चालन हुने मिनी बस तथा माइक्रो बसले मनपरी रुपमा भाडा असुली गरिरहेका छन् ।
माइक्रो बसहरुले प्रति यात्रु आठ सय रुपैयाँसम्म भाडा असुल गरेका छन् भने मिनी बसले पाँच सय रुपैयाँ भाडा असुली गरिरहेका छन् । नारायणगढको पोखरा बसपार्कमा रहेका टिकट काउन्टर बन्द गरेर यातायात व्यवसायीहरुले यात्रुसँग मनपरी रुपमा भाडा असुल गरिरहेका हुन् । दशैँ सकिदासम्म पनि टिकट काउन्टर बन्द गर्ने तथा खुला भएको काउन्टरमा समेत कर्मचारी नबसी यात्रुसँग अबैध रुपमा भाडा असुल गर्दा समेत स्थानीय प्रशासन भने मौन बसेको छ ।
नारायणगढको बसपार्कमा यात्रु सहायता कक्ष निर्माण गरिएको भएपनि त्यहाँ न व्यवसायी छन् न त प्रहरी नै भेटिन्छन् । बढी भाडा लिएको विषयमा यात्रुहरु समेत बोल्न चाहदैनन् । आफूहरुलाई जसरी पनि पुग्नै पर्ने बाध्यता भएपछि मागेको भाडा दिनुपरेको यात्रुहरुको गुनासो छ । यद्यपि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भने भाडा अनुगमन गरिरहेको जनाएको छ ।
प्रहरी निरीक्षक चन्द्रकुमार गिरी आफूहरुले सवारी साधन रोकेर यात्रुसँग भाडा बारे सोधपुछ गर्ने र बढी भाडा लिएको पाएमा भाडा फिर्ता गर्दै बस व्यवसायीलाई कारबाही गरेको बताउछन् । चितवनको नारायणगढबाट काठमाडौँका लागि मिनी बसको तीन सय रुपैयाँ तथा माइक्रो बसको चार सय रुपैयाँ भाडा तोकिएको छ । यातायात व्यवसायीहरुले टिकट काउन्टर नै बन्द गरेर यात्रुसँग मनपरी रुपमा भाडा असुल गर्दा समेत बसपार्कमा खटिएका ट्राफिक प्रहरी आफुहरुलाई थाहा नभएको बताउँछन् ।