काठमाडौं :  गैर आवसीय नेपाल संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए, आइसिसी ) को चुनावी माहोल तातेको छ । एनआरएनएआइसिसीको अध्यक्ष पदका दावेदार कुमार पन्तको पक्षमा एकाएक माहोल तातेको छ । पन्तलाई जिवा लामिछानेलगायतका पूर्व अध्यक्षहरुले समर्थन गरिसकेका छन्।

असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा एनआरएनएको नवौ बिश्व सम्मेलन हुँदैछ । सोही सम्मेलनमा बर्तमान कार्यसमितिका उपाध्यक्ष पन्तसहित अर्का उपाध्यक्ष कुल आचार्यले अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।

अघिल्लो कार्यकालमै अध्यक्षका दावेदार पन्त यस पटक सर्वसम्मत अध्यक्ष हुने आश्वासनपछि भवन भट्टलाई सर्वसम्मत बनाएर उपाध्यक्षमा बसेका थिए । यसपटक पनि सर्वसम्मत बनाएर एनआरएनएलाई राजनीतिक छाँयामुक्त बनाउने आफ्नो प्रयास जारी रहेको तर अन्तिममा चुनाव हुने स्थिति आए पनि सहज रुपमा लिई प्रतिस्पर्धामा जाने पन्तको भनाइ छ । पन्त भन्छन, सवै एनआरएनएका साथीहरुले भावी अध्यक्ष तपाई नै हो भन्नुभएको छ, अघिल्लो अधिवेशनदेखि नै भावी अध्यक्ष म नै हुनुपर्छ भन्ने कुरा मनमा राखेर स्वच्छ प्रतिस्पर्धामा होमिएको छु ।’

अध्यक्ष पदका उम्मेद्वार आचार्य पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। दुवैजना हस्पिटालिटी व्यवसायमा छन् । आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ। आचार्यले केही दिन अघि ललितपुरस्थित आफ्नो घरको सिशामा आक्रमण भयो भन्दै मतदाताहरुको सहानुभुति लिने प्रयास गरेका थिए । तर उक्त घटनाका कारण उनको पक्षमा माहोल बिग्रिएको चर्चा छ।

पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछाने, शेष घले लगायतसँग साझेदारीमा व्यवसाय गरिरहेका उनको समूहको युरोपमा १२८ होटलहरु छन्।

पन्तले गैर आवासीय नेपाली संघमा रहेर सामूहिक लगानीका परियोजनालाई जोड दिदैं आएका छन्। आचार्यले गैर आवासीय नेपालीको सीप, ज्ञान, पुँजी र प्रविधिलाई नेपाल भित्र्याउन आफूले थप पहल गर्ने बताउँदै आएका छन्।

अध्यक्ष पदका प्रत्यासी पन्त अघिल्लो कार्यकालमा अध्यक्षका उम्मेद्वार बन्ने चर्चा थियो।