फिस्लिङ : चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिका वडा न ३ फिस्लिङ्गमा अस्थाई प्रहरी पोष्ट स्थापना गरिएको छ । आज एक कार्यक्रमकाबीच प्रदेश ३ का प्रदेश सांसद घनश्याम दाहालले उद्घाटन गर्नुभएको हो ।
प्रहरी पोष्ट उद्घाटन गर्दै प्रदेश ३ का शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति समेत रहनुभएका प्रमुख अतिथि प्रदेश सांसद घनश्याम दाहालले नागरिक र प्रहरबीच समधुर सम्बन्ध भए मात्र शुसान कायम हुने बताउनुभयो ।
साथै उहाँले फिस्लिङ तीन जिल्लाको संगम स्थल व्यस्त बजार भएकाले यसलाई स्थायी प्रहरी चौकीका रुपमा विकास गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो फिस्लिङ बजार चितवन, धादिङ र गोरखाको संगम स्थल हो यहाँ विशेष गरि तरकारी बजारका कारण तीनै जिल्लाका स्थानीयहरु भिडभाड हुन्छ, यसलाई जती सक्दो चाडोँ भवननिर्माण गरि स्थायी रुप दिन आवस्यक छ ।”साथै उहाँले प्रहरीचौकी भवन निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा आवस्यक रहेको बताउनुभयो । उहाँले यहाँ लामो समयको प्रयास पछि अस्थाई भए पनि प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउनुभयो । यसका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान बहादुर मल्ललाई धन्यावद दिनुभयो । प्रहरी पोष्टलाई स्थायी रुप दिन आफ्नै भवन निर्माण गर्नका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
प्रहरी उपरिक्षक दान बहादुर मल्लले अन्तै बस्न लागेको प्रहरी जनशक्ति यहाँ बढी आवस्यक भएर उपलब्ध गराइएको बताउनुभयो ।उपरिक्षक मल्लले यहाँ भिडभाड र दुर्घटना बढी हुने गर्दा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट नागरिकलाई सेवा दिन कठिनाई भइरहेको र स्थानीय माग बमोजिम नै प्रहरी पोष्ट स्थापना गरिएको बताउनुभयो ।
उहाँले कानुन हातमा लिन खोजे जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याइने बताउनुभयो । नागरिक र प्रहरीबीच एक अर्कामा नङ र मासु जस्तो सम्बन्ध रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्नका लािग नागरिकले प्रहरीलाई सुचना दिई सहयोग गर्नु पर्ने पनि बताउनुभयो । उहाँले यस प्रहरी पोष्टबाट नागरिक प्रति गर्नुपर्ने कार्यमा चित्त नबुझे आफुलाई सिधै फोन गरि जनाकारी गराउन आग्रह गर्नुभयो ।
अहिले स्थानीय सगरमाथा यूवा क्लबको भवनमा अस्थायी प्रहरीपोष्ट संचालन गरिएको छ । यस प्रहरी पोष्टमा प्रहरी साहयक निरिक्षकको नेतृत्वमा पाचँ जना प्रहरीले आज देखिनै सेवा सुरु गरेका छन् ।
प्रहरी पोष्ट स्थापना भएपछि स्थानीयहरु खुशी भएका छन् । सगरमाथा क्लब फिस्लिङका प्रतिनिधि कमल ठकुरीले लामो समयको प्रयासपछि यहाँका स्थानीयको माग पुरा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । प्रहरीपोष्ट स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यावाद दिनुभयो ।
उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक कञ्चन लामा,राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयहरुको सहभागिता रहेका थिए ।