कुरिनटार  :   इच्छाकामनाका पाँच घर परिवारलाई जग्गा धनी पुर्जा वितरण गरिएको छ ।शुक्रबार कुरिनटारमा एक कार्यक्रमकामबीच इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा रहेको जोखिममा परेका बस्ती धुषा गाउँका पाँच घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

जग्गाधनी पुर्जा पाउनेहरुमा आइतीमाया चेपाङ, हेम बहादुर प्रजा, कर्ण बहादुर चेपाङ , पाकु गुरुङ र फिस्ट बहादुर प्रजा रहेका छन् । उनिहरुलाई सोही वडामा रहेको सुरक्षित बस्तीको जग्गा उपलब्ध गराएका हुन् ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ र वडा नम्बर ३ का अध्यक्ष गोवद्र्धन अधिकारी मार्फत उक्त जग्गाधनी पुर्जा हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ चितवनका अनुसार २०७२ सालमा आएको विनासकारी भूकम्पपछि चितवनको विभिन्न बस्तीका १०२ घर जोखिमा परेको पहिचान भएका थिए । जस मध्ये अहिले सम्म ६१ घर परिवारले मात्र सुरक्षित स्थानमा घरजग्गा धनी पुर्जा प्राप्त गरेका छन् ।


कार्यालयका इन्जिनियर सुजन नेपालले जोखिम बस्तीमा रहेका बासिन्दाहरु अन्यान्त्र जान नमान्दा अझै जग्गा उपलब्ध गराउन समस्या भएको बताए । अहिले सार्वजिक जग्गामा बसेकाहरुलाई स्थानान्तरण गर्न कठिनाई भएको उनले बताए ।
“बाँकी जोखिममा परेका घर परिवारहहरुका लागि पनि जग्गा खोज्ने कार्य सम्पन्न भइसकेको छ, तर अहिले बसीरहेको स्थानबाट अन्यात्र जान नमान्दा समस्या भएको छ, केही सार्वजनिक जग्गामा गएर बसेका छन् उनिहरु पनि अन्यत्र जान मानेका छैनन् त्यसैले स्थानान्तरण गर्न कठिनाई भएको छ, उने भने ।”
चितवन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र स्थानिय तहरुसंग समन्वय गरेर सबै जोखिममा परेका बस्तीका घरहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम अघि बढीरहेको इन्जिनियर नेपालले बताए । जती सक्दो चाँडो स्थानान्तरणका लागि सबै पक्षसंग छलफल भईरहेको उनको भनाईछ ।