कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नम्बर ६ मा रहेको चण्डिभञ्ज्याङ्ग महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका संकलन तथा बिक्री केन्द्रको स्थापना गरेको हो ।
केन्द्रको शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । केन्द्रको उद्घाटन गर्दै किसानहरुले गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“गुणस्तरीय उत्पादन गर्न सकेमा बजारीकरणको समस्या हुदैन र किसानहरुले पनि आफ्नो उत्पादनको मुल्य राम्रो लिन सक्छ ।”उहाँले व्यवसायी बाख्रा पालन गर्ने किसानहरुका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउदैँ आएको बताउनुभयो ।
विभिन्न संस्थाहरुसँगको साझेदारीमा रु साढे ५ लाख खर्च गरी खसी बोका संकलन तथा बिक्री केन्द्रको निर्माण गरिएको महिला उद्यमी सहकारी संस्था लिमिटेडका अध्यक्ष रश्मी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार खसी बोका बिक्री केन्द्र निर्माणको लागि इच्छाकामना गाउँपालिकाको रु.२ लाख ५० हजार, हेफर इन्टरनेशनलको २ लाख र सहकारीको १ लाख लगानी परेको छ ।
खुसी बोका संकलन तथा बिक्री केन्द्रको सञ्चालनसँगै किसानहरुको उत्पादनलाई बजारीकरणमा सहजता हुने र किसानले पनि राम्रो मूल्य पाउने अपेक्षा गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
यसैबिच सहकारीले निर्माण गरेको खसीबोका संकलन तथा बिक्री केन्द्रको उद्घाटनको दिन शनिबार पहिलो दिन करिब ६१ वटा खसीबोका बिक्री भएको र सो बाट करिब ९ लाख रुपैयाँ कारोबार भएको छ । केन्द्रमा ४० केजी भन्दा माथिको खसीबोकाको ५ सय रुपैयाँ प्रति किलो, ३० देखि ४० किलोसम्मको ४ सय ७० रुपैयाँ र २० देखि ३० केजीसम्मको ४ सय ५० रुपैयाँ प्रतिकिलो बिक्री मूल्य निर्धारण गरिएको छ ।
यहाँका अधिकांश किसानहरुले खेतीपाती संगै आर्थिक आम्दानीका लागि बाख्रा पालन पनि गर्दै आएका छन् ।
खसीबोका खरिद बिक्री संकलन केन्द्र निर्माण भएपछि किसनाहरुलाई सहजता भएको छ ।