आँबुखैरेनी :  तनहुँको आँबुखैरेनीमा गत भदौं ५ गतेबाट सुरु भएको आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७६ भव्यताका साथ आज(मंगलबार) सकिएको छ । मिलन समाज युवा क्लब, आँबुखैरेनी कला केन्द्रको आयोजना तथा आँबुखैरेनी भलिबल संघको सह–आयोजनामा आँबुखैरेनी–३, सैबोटेमा जारी महोत्सव, १ करोड ५० लाख बराबरको आर्थिक कारोबार गर्दे सकिएको हो ।
१३ दिनमा संचालन गरिएको महोत्सवमा १ लाख ५० हजार दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता बिशाल थापाले जानकारी दिनुभएको छ । महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले युवाहरुले चाहे जे पनि गर्न सक्छ भन्ने उदाहरण यस महोत्सवबाट सबैले लिन सकिने बताउनुभएको छ । यस्तै, उहाँले महोत्सव पूर्ण रुपले सफल भएको र युवाहरुले गर्ने हरेक राम्रो काममा सबैले साथ दिन पनि आग्रह गर्नुभएको छ ।
त्यसैगरी, महोत्सव मूल समारोह समितीका संयोजक अभियान श्रेष्ठले महोत्सव सफल पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपले साथ र सहयोग गर्नुहुने सबैलाई धन्याबाद दिनुभएको छ । संयोजक श्रेष्ठले महोत्सव सोचेको भन्दा धेरै सफल भएको प्रतिक्रिया दिदै आगामी दिनमा पनि यस्तै कार्यक्रम तथा सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रम गर्नलाई थप हैसला मिलेको बताउनुभएको छ । महोत्सवबाट उठेको रकमले सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च तथा सहयोग गर्ने संयोजक श्रेष्ठको भनाई रहेको छ ।
श्रीकृष्ण जन्माष्टमी, बुबाको मुख हेर्ने दिन तथा हरितालिका तिजको अवसर पारेर गरिएको महोत्सवमा १ सय वटा व्यापारीक स्टल रहेका थिए । महोत्सवमा ख्याति प्राप्त चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरु, साथमा आँुबखैरेनी कला केन्द्रले बिशेष प्रस्तुती दिएका थिए । यस क्षेत्रमा युवा संस्थाहरु आयोजक रहेर आयोजना गरिएको यो कार्यक्रम बृहत र पहिलो मानिन्छ ।