चितवन  :  चितवनको भरतपुर महानगरपालिका १५ स्थित रामपुरमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको आर्थिक सहयोगका लागि इच्छाकामना गाउँपालिकामा सहयोग समिति गठन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको संयोजक्त्वमा ४६ सदस्यीय गाउँपालिका स्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो ।
समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत रहेका छन् ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समितिहरु गठन गरिने बताउनुभयो ।

सामाजिक अभियनता कलाकार “धुर्मुश सुन्तली फाउण्डेसन”का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुश’ले दुई बर्ष भित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले सबैको साथ र सहयोग आवस्यक रहेको बताउदैँ आफ्नो मानसपटलमा रंगशाला निर्माण सम्पन्न भईसकेकोले कुनै द्वविधा नराख्न आग्रह गर्नुभयो ।

समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलल ‘धुर्मुश’ सहित जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,नेकपाका अध्यक्ष याम बहादुर परियार र नेपाली कांग्रेसका सभापती जीत नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।
यस अघि रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिसकेको छ ।
गाउँपालिकाका राजनितिक दल, संघसंस्था, व्यवसायी र स्थानियहरुले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
रंगशाला निर्माणका लागि रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।