काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नै भएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री थापाले सो कुरा बताएका हुन्।

गृहमन्त्री थापाले गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको मुठभेड हुँदा पौडल मारिएको दाबी गरेका छन् । मुठभेडको क्रममा कुमार पौडेलसँगै रहेका सहकर्मीले फाइरिङ गर्दै भागेको र कुमार पौडेलले पनि फायरिङ गरेको थापाको दाबी छ ।

यस्तो छ थापाले दिएको अभिव्यक्ति
शान्ति सुरक्षा कायम गर्ने शिलशिलामा विध्वंसात्मक क्रियाकलापमा संलग्न भएको आधारमा सुरक्षा निकायको खोजी सुचीमा रहेका विप्लव समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल लालबन्दी तर्फबाट सिन्धुली तर्फ जाँदै गर्दा घटना भएको स्थानमा गस्तीमा रहेका सुरक्षाकर्मीसँग निजको बाटोमा जम्काभेट भएको र उनीसँगै रहेका अन्य कार्यकर्ताहरुले सुरक्षा कर्मीहरुलाई लक्षीत गरी फायरिङ्ग गर्दै जंगलतर्फ भागेको र कुमार पौडेलेसमेत सुरक्षाकर्मीलाई लक्षित गर्दा मिस फायर भएको अवस्थामा प्रहरी टोलीको संयुक्त जवाफी कारबाहीमा निजलाई गोली लागी निजको मृत्यु भएको भन्ने छानविन समितिको प्रतिवेदनबाट खुल्न आएको सम्बन्धित सदन समक्ष अवगत गराउँछु ।

गृहमन्त्री थापाले राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि त्यही कुरा भएको बताएका छन् ।

सत्तारुढ दलकै सांसद तथा प्रतिपक्षीले घटनामा मुठभेड नभई हत्या भएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । प्रतिपक्षी कांग्रेसले पटक–पटकका संसद वैठकमा कुमार पौडेलको हत्याको विषयमा सरकारको धारणा माग गरेको थियो ।

हवाई फायरका क्रममा गोली लागेको
गृहमन्त्री थापाले सरोजनारायण यादवको मृत्यु हवाई फायरकै क्रममा भएको दाबी गरेका छन् । उनले प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग बताएका छन् । ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो’ थापाले भने । प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि मात्रै सुरक्षाकर्मीले हवाई फायर गरेको थापाको दाबी छ ।

बालक अमित रायको मृत्यु प्रकरणलाई लिएर सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । गोली चलाउँदा सरोजनारायण यादवको मृत्यु भएको थियो । झडपमा दर्जनौं घाईते भएका थिए ।