चितवन, ९ असार । नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी चितवनले आज पूर्णता पाएको छ । तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश हुनेगरी जिल्ला कमिटी गठन गरिएको हो । नेकपा प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा छनोट भएका १५५ जनाको नामावलीबारे परिपत्र गर्दे जिल्ला कार्यसमितिका सदस्यहरुको सूची पठाएपछि आज सपथग्रहण गराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा आयोजित कार्यक्रम मार्फत जिल्ला कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण गराउनुभएको हो ।यसअघिनै पार्टीले जिल्ला कमिटीको अध्यक्षमा तत्कालिन माओवादी केन्द्रका नेता यमबहादुर परियार र सचिवमा तत्कालिन एमालेका नेता कृष्णभक्त पोखरेललाई चयन गरेको थियो । पार्टीको आन्तरिक विवादका कारण जिल्ला कमिटीको टुंगो लगाउन ढिलाइ भएको हो ।
यसैबीच एक मात्र गाउँपालिका इच्छाकामनाबाट ५ जना जिल्ला सदस्यमा परेका छन् । प्रताप गुरुङ, नारायण अधिकारी, दान बहादुर गुरुङ, जुनाराज भण्डारी र सावित्रा सिलवाल जिल्ला सदस्यमा परेका हुन् ।