कुरिनटार,२ असार । चितवनमा अत्याधिक गर्मी बढेपछि छ स्थानीय तहले आज (सोमबार) देखि विद्यालय बन्दको घोषणा गरेका छन् ।भरतपुर महानगरपालिका,रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाले सूचना जारी गर्दै आज देखि तीन दिनका लागि विद्यालय बन्दको घोषणा गरेको हो ।
जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाले भने विद्यालय बन्द घोषणा गरेको छैन । गाउँपालिकाका प्रवक्ता सावित्रि गुरुङले आज बस्ने कार्यपालिकाको बैठकले बिदा बारे निर्णय गरिने जानकारी दिनुभयो । प्रवक्ता गुरुङका अनुसार गाउँपालिकाको माथिल्लो भेगमा गर्मीको खासै प्रभाव नभएपनि तल्लो बजार भेगमा भने जनजिवन प्रभावित भएका छन् ।
बाँकी सबै स्थानीय तहले नीजि तथा सामुदायिक विद्यालय बन्द गरेको हो । पछिल्लो केहीदिन यता चितवनमा अत्याधिक गर्मी बढेको छ । हिजो सबैभन्दा धेरै ३८ डिग्री तापक्रम पुगेको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिनुभयो
तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उहाँको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताउनुभयो ।