चितवन, २४ जेठ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार ब्याकबोनका रुपमा रहने बताएका छन् ।
रंगशालाको आज निरीक्षण गर्दै मन्त्री विश्वकर्माले गैरसरकारी क्षेत्रबाट समेत निर्माण गरिने यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको समेत सहभागिता रहने बताए । रंगशाला निर्माणका क्रममा सरकारको समेत साथ, सहयोग र लगानी समेत रहने मन्त्री विश्वकर्माले विश्वास दिलाए । राष्ट्रिय गौरवका आयोजना भएकोले कुनै पनि प्रकारका अवरोध खडा गर्न नहुने मन्त्री विश्वकर्माले बताए ।
रंगशाला निर्माणका लागि अहिले के भयो के भएन भन्दा पनि भोलि आउने चुनौतीलाई समाधान गरेर छिटोभन्दा छिटो चितवनमा रंगशाला बनाउन सबैको सकारात्मक दृष्टिकोण भएको विश्वकर्माले बताए । सरकारको मात्रै एकल प्रयासबाट ठूला संरचना बनाउन सम्भव नभएको उल्लेख गर्दै मन्त्री विश्वकर्माले जनता, सरकार र गैरसरकारी संघसंस्थाहरुको सहकार्यबाट राष्ट्रिय गौरवको आयोजना बनाउन सकिन्छ भन्ने उदाहरण यो रंगशाला बन्न सक्ने बताए । गत जेठ १५ गते विहानै रंगशालाको पश्चिम बारमा
केही स्थानीयले डोजर लगाएपछि रंगशाला निर्माण कार्य प्रभावित बनेको छ ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ जना मध्ये १४ जना छुटिसकेका छन् भने बाँकी ४ जना छुट्ने क्रममा छ । स्थानीयले पश्चिमतर्फ ३१ मिटर बाटो हुनुपर्ने र सो बाटो रंगशाला निर्माणस्थलमा नै हुनुपर्ने माग गर्दै आएका छन् ।