आँबुखैरेनी, २० जेठ । तनहुँको आँबुखैरेनी बजारबाट चोरी गरेर भागेका एक चोरलाई प्रहरीले दमौलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ फुर्केडाँडा बस्ने २३ वर्षीय सुवास चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ कमलाबारीमा आकस्मिक जाँचका क्रममा लु १ ख ८३७४ नम्बरको बसबाट प्रहरीले चोरीको धनमाल सहित चेपाङलाईपक्राउ गरेको हो । भैरहवाबाट पोखरा जाँदै गरेको बसमा सवार चेपाङले साथमा लिएको दुई वटा झोला जाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नगद ६९ हजार २५० र ल्यापटप सहित चोरी अपराधमा प्रयोग हुने फलामको छिनो लगायत बरामद गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी गराएका छन् ।
चेपाङले उक्त नगद सहितको धनमाल आँबुखैरेनी गाउँपालिका–३ मनकामना चोकमा रहेको कट्टेल इन्टरप्राइजेजबाट चोरी गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका चेपाङविरुद्ध चोरी मुद्दामा आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता लामिछानेले जनाए ।