मुग्लिन , १९ जेठ । जिल्लाको आँबुखैरेनी र चितवनको मुग्लिन बजार जोड्ने मुग्लिन पुलको निर्माणका लागि बिहीबारबाट पृथ्वीराजमार्ग दैनिक १० घण्टा बन्द गरिँदै आएको छ। जेठ ३० गतेसम्म गरी १५ दिन बन्द हुने भएको छ। निर्माण कम्पनीले यातायात बन्द गर्नको लागि ट्राफिक प्रहरीसँग भने समन्वय नभएको पाइएको छ। निर्माण पूरा भइसकेको पुलको सडकसम्मको सतह व्यवस्थापनका लागि राजमार्ग बन्द गर्नु पर्ने अवस्था रहेको भए पनि तर कुन समयमा बन्द गर्न अनुकूल हुने हो ट्राफिक प्रहरीसँग समन्वय गरिएन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले भने। अधिकारीका अनुसार डिभिजन सडक कार्यालय ललितपुर र पुल निर्माण कम्पनीले ट्राफिक प्रहरीसँग समन्वयन नगरि बन्दको सूचना सार्वजानिक गर्दा धेरै यात्रुले दुःख पाइरहेको अवस्था सिर्जना भएको छ। ुमुग्लिनस्थित ट्राफिक प्रहरी कार्यालयसँग सम्पर्क गर्दा त्यहाँ पनि समन्वय गरिएको पाइएनु उनले भने, ‘कुन समयमा बन्द गर्दा उपयुक्त हुन्छ ट्राफिक प्रहरीसँग परामर्श गरिएको भए राम्रो हुन्थ्यो। हचुवाको भरमा बन्दको तालिका प्रकाशित गरिएको छ।’ त्रिशुली नदी माथि बन्दै गरेको मुग्लिनको पुल र सडक सतहसँग मिलान गर्न बन्द गर्नु परेको पुल आयोजना सेक्टर नम्बर २ मध्य क्षेत्र पाटनढोका ललितपुरले जनाएको छ। रातको समयमा काम गर्न कठिन हुने भएकोले दिनको समयमा बन्द गरिएको निर्माण कम्पनीको भनाई छ। सडकको दाँया, बाँया दुवै तर्फको सडक पुल सतह भन्दा अग्लो भएकाले सडक सतहलाई कटिङ गरी आवश्यक लेवल मिलाउनुपर्ने हुँदा बन्द गरिएको आयोजनाका इन्जिनियर रमेश सुवेदीले जानकारी दिए। नदीको वारिपारि दुवै तिर लेबल मिलाउन सडक सतह कटिङ गरी टेवा पर्खाल लगाउने काम भइरहेको छ। पुल र सडकको लेबल मिलेपछि कालोपत्रे गरिने सुवेदीले बताए। पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनका साथै गण्डकी प्रदेश प्रदेशको राजधानी पोखराका अतिरिक्त तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ लगायतका जिल्लाहरूमा सवारीका आवतजावतमा त्रिशुली नदीमाथिको पुलले सहज बनाएको छ। दैनिक राति ९ देखि २ बजेसम्म र दिउँसो ११ देखि ३ बजेसम्म सडकमा आवागमन बन्द गरिएको छ। राति ११ बजे पछि ४ बजे सम्म बन्द गरेको भएपनि रात्री बस कटिसक्थेँ यात्रुले सास्ती भोग्नु नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। हालको तालिकाले धेरै यात्रुलाई मर्का परेकोले परिवर्तन गर्न सुझाव दिएको प्रहरी नायव निरीक्षक अधिकारीले बताए। अधिकारीका अनुसार मुग्लिन पुलको बाटो दैनिक ५ हजार सवारी साधनहरु गुड्छन्, पृथ्वी राजमार्गका सवारीसाधन नगुड्दा मात्रै पनि सडक खुल्ला हुने गरेका छन् । असार दोस्रो साताबाट यातायातका साधन नयाँ पुलबाट गुडाउने तयारी भइरहेको इन्जिनियर सुवेदी बताए। १२ करोड लागतमा पुल निर्माणको जिम्मा एलाइट एडभेञ्चर लोहनी जेभीले पाएको थियो। पानीको सतहबाट सय मिटर भन्दा बढी अग्लो, १६० मिटरको लामो र ११ मिटर चौडाइ उक्त पुल आर्क टाइपमा नेपालकै लामो र नमुना पुल भएको दावी निर्माण कम्पनीको छ। यो प्रविधि अनुसार निर्माण गरिएको स्टिलको आर्कमा ढलान गरिने भएकोेले सयौं वर्षसम्म टिक्ने इन्जिनियर सुवेदीको दावी छ । विश्व बैंकको १२ करोड रुपैयाँको लागतमा सो पुल निर्माण भएको आयोजनाले जानकारी दिएको छ। २०३२ सालमा निर्माण गरिएको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भइ सडकमै सवारी साधन चिप्लेर दुर्घटना हुने क्रम बढेपछि नयाँ पुल निर्माण थालिएको हो। नयाँ पुल सूचारु भएपछि मुग्लिनको जोखिम घट्नेछ। गोलो आर्क टाइपको यस्तो पुल नेपालको पहाडी क्षेत्रमा अत्याधिक सुहाउँदो भएको इन्जिनियर सुवेदीको भनाई छ। उक्त पुल निर्माण भएपछि गण्डकी बेलायत र बङ्गादेशी इन्जिनियरहरूको डिजाइनमा नेपालकै ठेकेदारले बनाएको पहिलो हुने बताइएको छ। स्वदेशी प्रविधिमै नेपालमा धेरै नदी र राजमार्गमा यस्ता पुल बनाउन बनाउन सके आकर्षक र पक्की बन्ने प्राविधिकको भनाई छ।