काठमाडौं,१५ जेठ । देशभर आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२र०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।

२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिनु भएको थियो । यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन भने फेरि २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्‍यो ।

दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ । संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापना भएका ११ वर्षपछि मुलुकमा परिवर्तनका संकेतहरु देखिन थालेका छन् । जनतामा नयाँ आशा र आकांक्षा पलाएका छन् ।

गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन ।

कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा देखिन थालेपछि वास्तविक परिवर्तनको चाह राख्ने जनतामा निराशा समेत छाउन थालेको छ ।

गणतन्त्र दिवसका अवसरमा सरकारले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दै ।