चितवन,१२ जेठ । चितवनमा चोरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं १ लंकालाईनमा चोरको आक्रमणबाट ४७ वर्षीय कुमार सिंह श्रेष्ठको मृत्यु भएको हो । बिहान ६ बज ेसम्म बुबा नउठेपछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको मृतकका छोरा सुमन श्रेष्ठले बताए ।
बेलुका ८ः३० बजेसम्म बुबासंग कुरा भएको र बेलुका खानाखान ढिलो हुने बताएपछि आफूहरुले खाना खाई घरको माथिल्लो तलामा सुतेको उनले बताए । बुबा सधै भुँइतलामा सुत्नुहुन्थ्यो, उनले भने । बेलुका ८ बजेतिर बुबा घरबाट बाहिर निस्कनु भएको थियो ।
आउने ढिला हुने भनेपछि घरका सबै ढोकाहरु बन्द गरी अगाडिको ढोका मात्र लक नगरी छाडिएको मृतकका छोरा सुमनले बताए । बुबाले लगाउनभएको ५ तोलाको सिक्री र ३ तोलाको औठी चोरी भएको उनले बताए । अरु के के सामानहरु चोरी भए अहिले भन्न सकिने अवस्था छैन, उनले भने । बिहान उठ्दा घरको अगाडिको ढोका लक भएको पाइएको र पछाडीको ढोका भने खुल्लै रहेको उनले बताए । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताए ।