भोजपुर,८ जेठ । पहिलोपटक प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताएका छन् ।
भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।
केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको छ ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ ।