अस्ट्रेलिया, २ जेठ । नेपाली राष्ट्रिय र्याफ्टिङ टिमले पुरुष खुलातर्फको स्प्रिन्ट स्पर्धा पाँचौं स्थानमा पूरा गर्दै क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहीबार १८ औं विश्व र्याफ्टिङ च्याम्पियनसिपको सुरुआत गरेको छ ।
आर ६ तर्फको विश्व र्याफ्टिङ च्याम्पियनसिपमा डिफेन्डिङ च्याम्पियन ब्राजिलले स्प्रिन्टमा स्वर्ण पदक जित्दै राम्रो सुरुआत गरेको छ । उसले २४२.५२ सेकेन्डमा डुंगा पार गरायो । दुई वर्षअघिको नतिजा दोहोरिँदा जापान (२४३.५९ सेकेन्ड) फेरि रजत पदकमै सीमित भयो । रुस (२४३.९९ सेकेन्ड) ले कास्य हात पार्यो । १६ देश सहभागी यस स्पर्धामा न्युजिल्यान्ड २४६.६७ सेकेन्डसाथ चौथोमा रह्यो ।
सुरजसहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेको नेपाली टिमले हेड टु हेडमा शुक्रबार चीनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जितेमा नेपालको क्वाटरफाइनल भेट ब्राजिलसँग हुनेछ ।