चितवन,२७ बैशाख । रत्ननगर स्थित इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा एक थुनुवाले आत्महत्या प्रयास गरेको घटनाको छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार भएको सर्वपक्षीय बैंठकले सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठनगरेको हो ।
समितिलाई ७ दिनभित्र यथार्थ अवस्थाको जानकारी समेटिएको प्रतिवेदन दिने कार्यादेश तोकिएको छ । समितिमा कालिका नगरपालिका दुई जना वडाध्यक्ष, आरोपीका आफन्त दुई जना, जिल्ला प्रहरी कार्यालयका डिएसपी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, मान्यता प्राप्त राजनीतिक दलका एक एक जना प्रतिनिधि रहने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
चोरी घटनाका आरोपी समीर घिसिङले बिहीबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालयको हिरासत कक्षको शौचालयभित्र आत्महत्या प्रयास गरेको प्रहरीको भनाइ छ । हाल उनको चिन्ताजनक अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कालिका नगरपालिका –१ पदमपुरको राष्ट्रिय आधारभूत विद्यालयबाट ल्यापटप र कम्युटर चोरी भएपछि पदमपुर प्रहरी चौकीले समिर घिसिङ र अर्का एक व्यक्तिलाई समातेर गत बुधबार टाँडी प्रहरीलाई बुझाएको थियो ।
घिसिङका परिवार र आफन्तले प्रहरीले घिसिङलाई अनावश्यक दवाव दिएर आत्महत्या गर्ने अवस्थामा र्पुयाएको आरोप लगाएका छन् । एक थुनुवा बन्दीका अनुसार समिरले शौंचालयको झ्यालको ग्रिलमा सर्टको पासो लगाएका हुन् ।
घटनाको विरोध गर्दै बिहीबार साँझ पदमपुर र टाँडीमा स्थानीयले प्रर्दशन र तोडफोड गरेका थिए ।