चितवन, २४ बैशाख । त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजको निर्माण कार्य सकिएको छ ।  पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको सो पुल पटक पटक समय थप्दै निर्माण कम्पनी बैशाख महिना भित्र सकेको हो ।

पुल निर्माणको ठेक्का चारबर्षअघि नै भएको थियो । ७४ सालको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि काम बाँकी रहेकाले २०७६ सालको बैशाख मसान्तसम्म म्याद थप गरिएको थियो । थप भएको म्यादभित्र काम सकिने योजना कार्यालयले जनाएको छ ।

१ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको छ। अब रंगरोगनको काम मात्र बाँकी रहेको पुल बिभागले जनाएको छ । जेठको १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट उद्घाटन गर्ने तयारी गरिएको पुल योजना सेक्टर नं २ का योजना प्रमुख अंगलाल रोकायाले जानकारी दिए ।

‘निर्माणको काम सकियो । अब पेण्टिङको काम बाँकी छ’,उनले भने, ‘पुल भन्दा सडकको लेभल केही माथि भएकाले त्यसलाई पनि मिलाउनु पर्नेछ ।’ नयाँ पुल निर्माण भएपनि पुरानो पुललाई पनि यथावत राखिने पुल बिभागको योजना छ ।

‘नारायणगढतिरबाट आउने गाडीलाई पुरानो पुलबाट र पोखरातिरबाट आउने गाडीलाई नयाँपुलबाट गुडाउने भन्ने हाम्रो योजना छ’, उनले भने, ‘नयाँ पुल चालु भइसकेपछि पुरानो पुलको मर्मतसम्भार गर्नेछौं ।’

नयाँ प्रकृतिको काम, नदीमा पानीको बहाव ठूलो हुनु र नारायणगढ–मुग्लिन सडक स्तरोन्नतिको समयमा सडक अवरुद्ध भई सामान ढुवानीमा समस्या हुँदा निर्धारित समयमा पुल निर्माण सम्पन्न हुननसकेको उनले बताए ।

चीनमा पढेर आएका नेपाली इञ्जिनीयरले डिजाइन गरेको यो दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा परीक्षणका रूपमा निर्माण गरिएको छ । यो पुल नेपालमा निर्माण हुँदै आएका पुलका डिजाइनभन्दा फरक भएको निमार्णकर्ताको दावी छ ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसी मोटरेवल आर्क ब्रिज पूरा भएपछि दुईतर्फी आवगमन सहज हुने अपेक्षा गरिएको छ । विश्व बैंकको १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो ।