कुरिनटार, १५ वैशाख । विनाशकारी भूकम्प गएको चार वर्षको अवधिमा इच्छाकामना गाउँपालिकाका करिब ५० प्रतिशत भूकम्प पिडितहरुको घर निर्माण भएको छ । गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिलेसम्म १ हजार ८ जनाले घर निर्माण गरिसकेको देखिन्छ । लाभ ग्राही सूचीमा परेका २ हजार ३ सय ५३ जना घरधुरी मध्य २ हजार ५२ जनाले मात्र अनुदानका लागि सम्झौता गरेका छन् । लाभ ग्राही सूचीमा परेर पनि अनुदानका लागि अझै ३ सय १ जना सम्झौता गर्न नआएको गाउँपालिकाका भुकम्प फोकल पर्सन राजन घिमिरेले जानकारी दिनुभयो । यस्तै गाउँपालिकाका जोखिम युक्त ८३ घर परिवार मध्य ४३ घर परिवारलाई वस्ती स्थानान्तरण गरिएको छ । बाँकी ३६ घर परिवारको भने स्थानान्तरण पक्रिया स्थगित छ । ती सबै वडा नं। ६ कोयलघारीको रहेको घिमिरेले बताउनुभयो । प्रवलिकरणमा परेका २ सय ४८ घरधुरी मध्य १ सय ९६ जनाले अनुदानका लागि सम्झौता गरिसकेका छन् भने ५२ जनाले सम्झौता गरेका छैनन् । यस्तै १ हजार १ सय २९ जनाले गुनसो भरेका छन् । जसमध्य ३ सय ६० घर परिवारको गुनासो सम्बोधन भएको छ बाँकीको पक्रिया अगाडि नबढेको घिमिरेले बताउनुभयो ।