काठमाडौँ, १३ वैशाख । नर्सिङ संघ एकाइ भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।
प्रशासनसमक्ष पटक–पटक ग्रेडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ सङ्घ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले जानकारी दिइन् । उनले भनिन्, ‘तीन दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहे पनि कुनै सुनुवाइ नभएपछि सेवा बहिष्कारको आन्दोलन शुरु गरेका हौँ । हाम्रा मागलाई हुन्छहुन्छ भनियो तर, सात–आठ महीनासम्म झुलाउने मात्र काम भयो । त्यसैले हामीले आन्दोलनको विकल्प देखेनौँ र यो कदम चाल्नुपर्यो ।’
यता केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले लोकसेवा आयोगबाट स्थायी पदपूर्तिको प्रक्रिया अघि बढेको बेला आन्दोलनको कुनै अर्थ नभएको प्रतिक्रिया दिए । उनले पटक–पटकको प्रयासबाट हालै केन्द्रको दरबन्दी स्वीकृत भएर आएको जानकारी दिँदै स्थायी पदपूर्तिका लागि लोकसेवालाई आग्रह गर्ने काम भइसकेको र अब एक(दुई दिनमा विज्ञापन खुल्ने हुँदा आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको बताए ।
उनले भने, ‘हामीले विभिन्न प्रयासबाट अस्पतालका नर्सको स्थायी प्रक्रिया पूरा गर्दैछौँ, जसका लागि केही दिनमा लोकसेवाबाट प्रक्रिया अगाडि बढ्छ होला, यस्तो बेला आन्दोलन गर्नुपर्ने कुनै कारण छैन ।’ यस्तै निर्देशक डा। श्रेष्ठले अस्पतालको तर्फबाट आफ्ना कर्मचारीलाई दिने अन्य सेवासुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको समेत बताए ।