राजेन्द्र न्यौपाने
गोरखा, १३ बैशाख । संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले गोरखा दरबारको पुनः निर्माण छिटो सक्न निर्देशन दिनुभएको छ । आज विहान गोरखा दरबारको निरीक्षण गर्दै उहाँले पुनःनिर्माणको कार्य सुस्त गतिमा भइरहेको प्रति चिन्ता व्यक्त गर्दै काममा कुनै पनि ढिलासुस्ती नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो । ऐतिहासिक महत्व रहेको गोरखा दरबारको मौलिक संरचना कत्तिपनि नविग्रने गरी पुनःनिर्माण गर्न आग्रह गर्दै गोरखा दरबारको संरक्षण संवर्दन र प्रवर्दनमा सरकार, स्थानीय निकाय र सरोकारवाला सवैको चिन्ता र चासो हुनुपर्ने उहाँले बताउनुभयो । गोरखा दरबारलाई ऐतिहासिक, पुरातात्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सवै लागि पर्नुपर्ने उहाँको भनाई छ । यसैवीच सभामुख महराले गोरखा संग्रहालयको समेत अवलोकन, निरीक्षण गर्नुभई पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा सबै लागि पर्नुपर्ने बताउनुभयो । अवलोकन कार्यक्रममा सभामुख महराका साथ प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, प्रतिनिधि सभा सदस्य हरीराज अधिकारी, संविधानसभा सदस्य कृष्ण धिताल, गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, गोरखा दरबार, गोरखा संग्रहालयका कर्मचारीहरुको सहभागीता रहेको थियो । २०७२ साल बैशाख १२ गते गएको भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित कार्यक्रममा जिल्लाको बारपाकमा आउनुभएका महरा आज काठमाण्डौ प्रस्थान गर्नुभएको छ ।