कुरिनटार, ४ वैशाख । चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ आउँदै गरेको बा ४ ख ८१७६ नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको बा ४६ प ७८३० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका ५ बस्ने ३७ बर्षिय रेशम बहादुर गुरुङको उपचारका लागि भरतपुर अस्पतालमा लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुर्घटनामा साइकल यात्री भरतपुर ११ गणेस्थानका श्याम कुमार श्रेष्ठ घाइते भएका छन् । ट्रकले ठक्कर दिएपछि मोटरसाईकल साईकलमा ठोक्किन पुगेका थिए । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
यसैबीच पृथ्वी राजमार्ग अन्तरगत चितवनकै इच्छाकामना ४ लेवाटारमा हाईसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । आज साँझ ५ बजे पोखराबाट काठमाडौँ तर्फ जादैँ गरेको २२४८ नम्बरको हाईस र विपरित दिशाबाट आईरहेको ग ७ प९३९८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ मोटरसाईकल चालक गोरखाका ३७ बर्षिय शम्भु खड्काको मृत्यु भएको हो । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार हाइसंग ठोक्किएपछि मोटरसाईकल चालक उछिट्टीएर पोखराबाट काठमाडौँ तर्फ जादैँ गरेको बा २ ख १९१२ नम्बरको अर्को हाइसमा ठोक्किन पुगेका थिए ।
हाईस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।