चितवन, ३० चैत । पोखराको विन्दवासिनी मन्दिरमा गेट निर्माण हुने भएको छ। लक्ष्मणबाबु मेमोरियल ट्रष्टले मन्दिर अगाडि गेट निर्माण गर्ने भएको हो।
यो ट्रष्ट स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा स्थापना गरिएको हो। यो ट्रष्टले विभिन्न सामाजिक काम गर्दै आएको छ। शनिबार ट्रष्ट तथा चितवन कोई समूहका चेयरम्यान राजुबाबु श्रेष्ठले गेटको शिलन्यास गरे। ७५ लाख रुपैयाँमा एक वर्षभित्र यो गेट निर्माण भइसक्नेछ।
‘बुबाको चाहना अनुसार गेट बनाउन लागेका हौं। हामीले मौलिक परम्परा झल्किने गेट निर्माणका लागि भक्तपुरका कालिगढलाई जिम्मा दिइसकेका छौं’ मनकामना केवलकारका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भने।
लक्ष्मणबाबुकै सकृयतामा नेपालमा पहिलो केवलकार मनकामना केवलकार स्थापना भएको थियो। मनकामना केवलकारमा वार्षिक १० लाख भन्दा बढी भक्तजन चढेर मनकामना मन्दिर दर्शनका लागि जाने गर्छन्।
महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय स्थल विन्ध्यवासिनी मन्दिर कसले कहिले निर्माण ग¥यो भन्ने यकिन तथ्य प्राप्त नभए पनि पूजा सञ्चालन गरिरहेका ब्राह्मणले प्राप्त गरेको सनद तथा लालमोहरबाट कमसेकम तीन सय वर्ष अघि मन्दिर वर्तमान स्वरुपमा निर्माण भइसकेको अनुमान गर्न सकिन्छ । कास्की जिल्लाको मध्यभागमा अवस्थित २७ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर वरपरको समथरिलो भूभागबाट केही उच्च थुम्कोमा अवस्थित छ ।
यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार ९३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार ५५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार ५२५ मिटरको अन्नपूर्ण चौथो, सात हजार ४८५ मिटरको खाङसारकाङ र सात हजार २९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल, छ हजार ९९७ मिटरको माछापुच्छ«े, छ हजार ९८३ मिटरको लमजुङ, छ हजार ४४१ मिटरको घान्द्रुक हिउँचुली र पाँचहजार ७८१ मिटरको मर्दी हिमाल नाङ्गो आँखाले देख्न सकिन्छ ।