हीरालाल गुरुङ
मुग्लिन,२९ चैत । ऋणधन गरेर भए पनि निजि विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कती पय सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालिम प्राप्त अनुभवी शिक्षकहरु भए पनि निजि विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो अंगे्रजी माध्ययममा पढाई हुनु ।
चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि निजि विद्यालयको आकर्षणका कारण कतीपय सामुदायिक विद्यालयहरु रितिदैँ गएका छन् । तर वडा न. ५ मा रहेको त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिनमा विद्यार्थीहरुको अभाव छैन ।
अंग्रेजी माध्याममा पढाई सुरु गरेपछि विद्यार्थीहरुको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक यूवराज लामाले बताउनुभयो । निजि विद्यालयका कारण विद्यालमा विद्यार्थीको आकर्षण क्रमश घट्दै गएपछि दरबन्दी नै कटौती हुने अवस्था आएपछि अंग्रेजी माध्याममा पढाई सुरु गरिएको प्रधानाध्यापक लामाको भनाईछ ।
लामाले भन्नुभयो,“ विद्यालयमा विद्यार्थी संख्या घट्दै गयो, दरबन्दी नै कटौती हुने अवस्था पुग्यो त्यसपछि हामीले २०६६ सालबाट कक्षा १ मा अंग्रेजी माध्यामबाट पढाई सुरु ग¥यौँ, जब अंग्रेजी माध्यामबाट पढाई सुरु भयो त्यसपछि क्रमश निजि विद्यालयबाट बालबालिकाहरु त्रिवेणी वराह माविमा भर्ना गर्न थाले ।”अहिले कक्षा ७ सम्म अंग्रेजी माध्याममा पढाई भईरहेको प्रधानाध्यापक लामाले बताउनुभयो । साथै विद्यालयमा कक्षा चार देखि नै अतिरिक्त कम्प्यूटर कक्षाको व्यावस्था गरिएको छ भने बाल कक्षा देखि कक्षा ५ सम्मका लागि छुट्टै पुस्तकालयको व्यावस्था रहेको छ । बुक फर चेञ्ज संस्थाले पुस्तकालयको व्यावस्था गरिदिएको हो । विद्यालयमा ६११ विद्यार्थीहरु अध्ययनरत छन् । त्रिवेणी वराहा इच्छाकामना गाउँपालिकाभित्र अंग्रेजी माध्यमबाट पठनपाठन हुने एक मात्र विद्यालय हो ।
कम्प्यूटर इन्जिनियरिङ पढाई हुने चितवनको एक मात्र सामुदायिक विद्यालय
त्रिवेणी वराह माध्यमिक विद्यालय मुग्लिन कम्प्यूटर इन्जिनियरिङ पढाई हुने चितवनकै एक मात्र सामुदायिक विद्यालय हो । यहाँ अहिले कम्प्यूटर इन्जिनियरिङमा ८१ जना विद्यार्थीहरु अध्ययनरत छन् । २०७३ सालबाट कम्प्यूटर इन्जिनियरीङको पठनपाठन सुरु गरिएको प्रधानाध्यापक लामाले बताउनुभयो ।
कक्षा ९ देखि १२ कक्षा सम्म कम्प्यूटर इन्जिनियरीङ पढाई हुन्छन् । सुविधाजनक विज्ञान प्रयोगशाला मार्फत प्रोजेक्टरमा पठनपाठन हुने गरेको छ । विद्यालयले कम्प्यूटर इन्जिनियरीङका विद्यार्थीहरुलाई आवस्यक परेको बेला सामाग्री प्राप्त गर्न सकिने आफ्नै सफ्टवयर निर्माण गरिएको छ । यस बर्ष मात्र कक्षा ९ मा ४० देखि ४८ जना नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य विद्यालयको छ । पछिल्लो समय कम्प्यूटर इन्जिनियरिङको विषय पढ्नका लागि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको प्रधानाध्यापक यूवराज लामाको भनाईछ ।
विद्यार्थीको माग र अभिभावकको चाहना अनुसार यो शैक्षिक सत्रबाट कक्षा ४ देखि नै थप विषयको रूपमा कम्प्युटर विषय पठनपाठन गरिने उहाँले जानकारी दिनुभयो । साथै विद्यार्थीको शैक्षिक स्तरोन्नतिका लागि यही शैक्षिक सत्रदेखि कक्षा ६ देखि नै गणित र अंग्रेजी थप विषयको रूपमा अध्यापन गराईने लक्ष्य राखिएको छ। बालविकास कक्षा –इसिडी लाई प्ले ग्रुप र के.जी. गरि दुईओटा कक्षामा मल्टिमिडियाको माध्यमबाट पढाईनेछ । चितवनमै पहिलोपटक कम्प्युटर इन्जिनियरिङ पढाइ हुने भएतापनि अभिभावकहरूको चेतनाको अभावका कारण कक्षा ११ मा मात्र प्राविधिक विषय कम्प्युटर इन्जिनियरिङमा भर्ना गर्न आउने हुँदा सोको लागि कक्षा ८ उत्तीर्ण भएपछि कक्षा ९ देखि नै पढ्नुपर्ने कुराको लागि सञ्चार माध्यमले पनि प्रचारप्रसार गरिदिनुहुन विद्यालयका प्र.अ. युवराज लामाले आग्रह गर्नुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट पनि आईसिटी ल्याब स्थापना गर्न यो विद्यालय छनौटमा परेको छ । गुणस्तरीय शिक्षाका लागि अझै सहज हुने प्र.अ. लामाको विश्वास छ ।