काठमाडौं, २७ चैत । सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज बिदाइ गरिएको छ ।भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यसतर्फ जाँदैछ । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई गरेका हुन् ।
टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए । ‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।’
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिएका छन् । तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न उनले टोलीका सदस्यलाई सुझावसमेत दिए ।
‘लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि सहभागी थिइन् ।
सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।