हेटौंडा,२५ चैत । प्रदेश ३ को प्रदेशसभा बैठकमा सोमबार एक विधेयक पारित भएको छ। त्यसैगरी, ४ विधेयक समितिमा दफावार छलफलका लागि गएको छ भने ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएको छ। बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणीकरण ऐन संशोधन गरेको विधेयक सर्वसम्मत पारित भएको छ।
विधेयकमा संशोधन हालेकी प्रदेशसभा सदस्य सीता लामाले संशोधन फिर्ता लिएपछि सर्वसम्मत पारित भएको हो। त्यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेश सूचनाको हकसम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी संशोधन प्रदेश मामिला समितिमा दफावार छलफलका लागि सर्वसम्मत पठाइएको छ।
त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलद्वारा प्रस्तुत कर तथा गैरकर राजस्वसम्बन्धी संशोधन विधेयक अर्थ तथा विकास समितिमा र सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा प्रस्तुत प्रदेश बालबालिका सम्बन्धी विधेयक स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको छ।
बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाद्वारा प्रस्तुत प्रदेश विउ विजन सम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालद्वारा प्रादेशिक व्यापार सम्बन्धी विधेयक प्रस्तुत भएको छ। बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।