चितवन, १८ चैत । नेपालीहरुको नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना आदान प्रदान तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर ३ मा चितवनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिइएको छ ।
फोनिज चितवनको आयोजनामा सोमबार भरतपुरमा आयोजना गरिएको कार्यक्रममा चितवनबाट फोनिज प्रदेश नम्बर ३ को कार्यसमितिमा निर्वाचित विनोद श्रेष्ठ तथा राजेश रुम्बालाई सम्मान सहित बधाई दिइएको हो । सो कार्यक्रममा ईच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले देशमा परिवर्तन आएपछि अबको अवस्थामा समृद्ध नेपाल निर्माणका लागि पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताइन् । नेपालको संविधानले नेपाल पूर्ण प्रेस स्वतन्त्रता प्रदान गरेका कारण पत्रकारहरुले कसैको पनि दवाव र प्रभावमा परेर समाचार लेख्न नहुने गुरुङको भनाइ छ ।
पत्रकारहरुले यथार्थ कुराहरुलाई लुकान नहुने उल्लेख गर्दै कसैसँगको रिसिईबीलाई साँधेर उसको चरित्र हत्या गर्ने खालका समाचार समेच नलेख्न आग्रह गरिन् । ईच्छाकामना गाउँपालिका चितवनको एक मात्रै गाउँपालिका भएपनि त्यहाँ जनप्रतिनिधि आएपछि धेरै परिवर्तन गरिएको उल्लेख गर्दै सकारात्मक कुराहरुलाई सञ्चार माध्यमले स्थान दिनुपर्ने गुरुङको भनाइ छ । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारहरुले अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताए ।
पत्रकार महासंघमा अध्ययन सामग्री पर्याप्त भएपनि यसको सदुपयोग हुन नसकेको भन्दै खतिवडाले गुनासो गरे । पछिल्ला समय समाचारहरु हुबहु धेरै मिडियामा आउने गरेको उल्लेख गर्दै खतिवडाले पत्रकारहरुले लेखनमा ध्यान दिनुपर्ने र नयाँ पत्रकारहरुलाई प्रशिक्षण समेत प्रदान गरिने बताए । सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ चितवनका उपाध्यक्ष महेन्द्र दुरा, प्रेस सङ्गठन चितवनका प्रतिनिधि प्रकाशमणि ज्ञवाली, नेपाल पत्रकार महासंघ चितवनका सल्लाहकार सूर्यप्रकाश कंडेल, नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष महेन्द्रलाल प्रधान, क्रियाशील पत्रकार महिला चितवनकी अध्यक्ष प्रमीता ढकाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम फोनिज चितवनका अध्यक्ष सन्दिपकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।