काठमाडौं,१५ चैत । प्रदेश नम्बर २ मा लगातार प्रश्नपत्र बाहिरिएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो।

चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो।

विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर काम समेत सुरु भएपछि पुन सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएपछि मन्त्रालयले शुक्रबार ७७ जिल्लाकै परीक्षा केन्द्रको प्रश्नपत्र रुजु गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको थियो।

साथै प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रालयले गृह मन्त्रालयमार्फत् केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई अनुसन्धान गर्न शुक्रबार नै निर्देशन दिएको थियो।

शुक्रबार जिल्ला सुरक्षा समितको प्रमुख, परीक्षा समन्वय समितिको प्रमुख लगायतका अधिकारी संलग्न टोलीले प्रश्नपत्र रुजु गर्ने क्रममा शनिबार हुन लागेको अनिवार्य स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र पनि बाहिरिएको पुष्टि गरेको हो।

तीन वटा विषयको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेर परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले परीक्षा स्थगितका कारण विद्यार्थी तथा अभिभावकमा परेको असुविधाप्रति क्षमा याचना गरे।

प्रश्नपत्र बाहिर ल्याउने क्रममा सलग्नलाई आपराधिक क्रियाकलापको संज्ञा दिदै उनले भने, ‘त्यस्ता व्यक्तिलाई जसरी पनि कानुनी दायरामा ल्याउँछौं।’ अर्को परीक्षाको तालिका चैत महिनाभित्रमै सार्वजनिक गर्ने पोखरेलले बताए। प्रदेश(२ मा दुई सय ६२ वटा परीक्षा केन्द्र र ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन्।

राष्ट्रिय परीक्षा बोर्डले यसै वर्षदेखि प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापेर परीक्षा सञ्चालन गरेको थियो। यस पटक शनिबार पनि परीक्षा सञ्चालन गर्ने तालिका बोर्डले यसअघि नै सार्वजनिक गरेको थियो। अन्य प्रदेशमा भने तालिका अनुसार नै परीक्षा सुचारु हुने बोर्डले जनाएको छ।
तीन विषय पुनः परीक्षा दिनु नपर्ने

आइतबारदेखि शुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, सोमबार अनिवार्य नेपाली विषयको परीक्षा भएको थियो ।

मंगलबार छुट्टी थियो भने बुधबार गणित विषयको परीक्षा सकियो । बिहीबार विज्ञानको परीक्षा दिइसकेपछि रद्द भयो भने शुक्रबार सामाजिक विषयको परीक्षा नै भएन ।

लगातार प्रश्नपत्र बाहिरिएपछि सबै प्रश्नपत्र बाहिरिएको आशंकामा अनुसन्धान भइरहेको छ । शिक्षा मन्त्रालयकाअनुसार अंग्रेजी, नेपाली र गणितको परीक्षा भने रद्द हुने छैन ।