काठमाडौं,१४ चैत । जनकपुरमा भएको बम काण्डमा दोषी ठहर गर्दे पूर्वमन्त्री संजयकुमार शाहसहित ७ जनालाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले पूर्वमन्त्री सञ्जय शाहसहित ७ जनालाई जन्मकैदको फैसला गरेको हो ।
जन्मकैदको सजाय पाउनेमा शाहसहित अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द झा छन् । ओमप्रकाश यादवलाई १० वर्ष कैद सजाय भएको छ । सुनिलकुमार पाण्डेले भने सफाइ पाएका छन् ।
२०६९ साल वैशाख १८ गते भएको विस्फोटमा ५ जनाको ज्यान गएको थियो । मिथिला राज्य संघर्ष समितिले जनकपुरको रमानन्द चोकमा धर्ना दिएका बेला बम विस्फोट भएको थियो । विस्फोटमा परि रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।
पूर्व राज्यमन्त्री साह २०६४ सालको चुनावमा तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट धनुषा–४ तथा दोस्रो संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट धनुषा–३ बाट विजयी भएका थिए । विजयकुमार गच्छदार भौतिक योजना मन्त्री रहेको समयमा उनी राज्यमन्त्री बनेका थिए ।