कुरिनटार ,१२ चैत । चितवनको इच्छाकामनाका अग्निपीडितलाई राहत वितरण गरिएको छ । गत शुक्रबार आगलागीबाट पीडित भएका इच्छाकामना गाउँपालिका वडा नं. २ फौदतका तीन परिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति चितवन, प्रदेश सांसद घनश्याम दाहाल, गाउँपालिका र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामना संयुक्त रुपमा पीडित परिवारलाई राहत वितरण गरिएको हो ।
जिल्ला विपत् व्यवस्थापन समिति चितवनले आगलागीमा छोरा समेत गुमाएका रामचन्द्र चेपाङलाई क्षतिपूर्ति वापत नगद रु १ लाख र तत्काल घर वास व्यावस्थापनका लागि नगद रु.१० हजार सहित खाद्यान्न सामाग्री प्रदान गरेको छ । आगलागी कै पीडितहरु रामकृष्ण चेपाङ र दिपक चेपाङलाई पनि तत्काल घर वास व्यस्थापनका लागि नगद १० हजार सहित खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
यसैबीच ३ नम्बर प्रदेशका प्रदेश सभा सदस्य घनश्याम दाहालले पनि पीडितलाई नगद जनही रु ५ हजार प्रदान गर्नुभयो ।
यस्तै स्थानीय विपत् व्यवस्थापन समिति इच्छाकामना गाउँपालिकाले पनि आगलागी पीडितलाई क्षतिपूर्ति राहत रकम र खाद्यान्न सामाग्री प्रदान गरेको छ । आगलागीमा छोरा गुमाएका पिडित रामचन्द्र चेपाङ्गलाई किरीयाखर्च वापत नगद रु २५ हजार र तत्काल घरवास व्यवस्थापनका लागि नगद रु १० हजार र खाद्यान्न सामाग्री वितरण गरेको छ । आगलागी पिडित अन्यलाई पनि तत्काल घरवास व्यवस्थापनका लागि नगद रु १० हजारका साथै खाद्यान्न सामाग्री उपलब्ध गरेको छ ।
पीडितलाई थप राहत पुगोस् भन्ने अभिप्रायले गाउँमै राहत वितरण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।
जनताको दुःख पिडामा जनताकै माझमा पुगेर सहानुभुती दर्साउनुपर्छ भन्ने लागेर राहत बोकेर गाउँमै आएको प्रदेश सभा सदस्य घनश्याम दाहालले बताउनुभयो ।दाहालले भन्नुभयो “ राहत त तपाईहरुलाई बोलाएर रै भए पनि दिन सकिन्थ्यो तर जनताको दुःख पिडामा जनताकै माझमा पुगेर सहानुभुती दर्साउनुपर्छ भनेर यहाँ सम्म आएको हुँ । “
राहत वितरण कार्यक्रममा बोल्दै आगलागीको घटनाले आफुलाई एकदम दुःख लागेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो –‘नागरीकको पिडामा हामी सबै साथ छौं भनी नागरिकलाई महसुस गराउनका लागि पनि हामी नागरिकको घरघरमा राहत लिएर आएका हौं’ साथै स्थानीय जनताको पिडामा मल्हम लगाउन स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो ।
यसैबिच सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी इच्छाकामनाले पनि आगलागी पीडितलाई करिब २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री र लत्ताकपडा वितरण गरेको छ । त्यस्तै इच्छाकामना गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पञ्च चेपाङले पनि व्यक्तिगत रुपमा जनही नगद २ हजार सहयोग गर्नुभयो ।
राहात वितरण कार्यक्रममा जिल्लाका प्रहरी प्रमुख एसपी शुसिल सिंह राठौर, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक नेकपा इच्छाकामनाका संयोकद्वय प्रताप गुरुङ, दान बहादुर गुरुङ लगायत वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
गत शुक्रबार इच्छाकामना गाउँपालिका २ फौदतमा सोलार प्यानल सर्ट भई आगलागी हुदाँ स्थानीय रामचन्द्र चेपाङ, दिपक चेपाङ र रामकृष्ण चेपाङको खरको छानो भएको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो भने रामचन्द्र चेपाङको ६ महिने छोरा शिव चेपाङले मृत्यु भएको थियो ।