चितवन, ११ चैत । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित चितवनको भरतपुर आँखा अस्पतालले आँखा बैंक स्थापनाको तयारी सुरु गरेको छ ।
वार्षिक साढे एक लाख भन्दा बढी बिरामीलाई सेवा पु¥याउँदै आएको भरतपुर आँखा अस्पतालले आँखाको नानी संकलन र प्रत्यारोपण सुरु गरेसँगै आँखा बैंक स्थापनाको तयारी थालेको हो । अस्पताले यस वर्ष चार जनाको आँखाको नानी संकलन गरेर काठमाडौँको तिलगंगा आँखा अस्पतालमा पठाएको तथा आँखा बैंकबाट आँखाको नानी ल्याएर ५५ जनामा प्रत्यारोपण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाल नेत्रज्योति संघको ४१औँ तथा आँखा अस्पतालको ३१औँ स्थापना दिवसको कार्यक्रम सार्वजनिक गर्दै संस्थाका कोषाध्यक्ष तेजेन्द्रबहादुर खड्काले गरिब तथा असहाय बिरामीलाई अस्पतालले निशुल्क रुपमा सेवा पु¥याउँदै आइरहेको बताउनुभयो ।
अस्पताल प्रशासक दयाशंकर चौधरीका अनुसार भरतपुर आँखा अस्पतालमा आँखा दानका लागि दुई सय ६५ जनाले फारम भरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आँखा अस्पतालको बहिरङ्ग विभागबाट ६६ हजार सात सय ७६, विभिन्न आँखा शिविरबाट १३ हजार दुई सय ३५ जनाले आँखा परीक्षण गराएका उल्लेख गर्दै चौधरीले अस्पतालमा दुई हजार नौ सय २६ जना तथा आँखा शिविरमा दुई हजार तीन जनाको आँखाको शल्यक्रिया गरिएको जानकारी दिए ।
आँखा अस्पतालले स्थापना दिवसको अवसर पारेर बिरामीहरुलाई फलफूल वितरण, भरतपुर कारागारका कैदीबन्दीको आँखा परीक्षण लगायतको कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यक्रम नेपाल नेत्रज्योति संघ चितवनका अध्यक्ष कृष्णराज धरेलको अध्यक्षतामा भएको थियो ।