काठमाडौं,२६ फागुन । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ ।
केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो ।
अर्थमन्त्रीले दातृ निकायका सर्त र देशको आवश्यकताको कहींकतै मिलनबिन्दु नभएर बजेटमा समावेश गरिसकिएको वैदेशिक सहायतालाई पनि घटाउनुपरेको बताउँदै आएका छन् ।
सबैभन्दा ठूलो परिमाणमा वैदेशिक ऋण कटौती गर्नुपर्ने बाध्यताका पछाडि भारतीय एक्जिम बैंकको ऋण सहयोग मुख्य कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिएको एक अर्ब अमेरिकी डलरको सहयोगमध्ये २५ करोड डलर अनुदानमा प्राप्त भएको हो भने बाँकी ७५ करोड एक्जिम बैंकबाट प्राप्त हुने ऋण सहयोग हो ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पुष्पराज आचार्यले लेखेका छन् ।