कुरिनटार,२४फागुन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले बालिका बचत कार्यक्रम सुरु गरेका छन् । आज १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक कार्यक्रमकाबीच बालिकाकी अभिभावकलाई चेक हस्तान्तरण गरी बालिका बचत खाता सञ्चालन सुरु गरेका हुन् ।
यस आर्थिक बर्ष २०७५साउन देखि गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाबाट सुत्केरी गराईएको २३ जना बालिकाको अभिभावकलाई गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले जनही रु १० हजारको चेक हस्तान्तरण गर्नुभयो ।
गर्भमै भ्रुण हत्या गर्ने प्रवृतिलाई अन्त्य गर्न र छोरा र छोरीबीचको भेदभावको अन्त्य गर्न सहयोग पु¥याउने उदेश्य सहित बालिका बचत कार्यक्रम सुरु गरिएको गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।
उहाँका अनुसार गत बर्ष स्वाथ्यचौकीमा जन्मिएका शिशु मध्ये २७ छोरी र १०० छोरा रहेका थिए । इच्छुक संघसंस्था वा कुनै पनि व्यक्तिले विपन्न परिवार विशेष गरि चेपाङ तथा दलित समुदायका बालिकाका लागि खातामा रकम सहयोग गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो ।
यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५ लाखको बजेट व्यवस्था गरेको छ ।
अहिलेलाई स्वास्थ्य केन्द्रमा जन्मेका बालिकाहरुलाई मात्र यो कार्यक्रममा सहभागिता गरिने भए पनि आगामी दिनमा सबै बालिकाहरुलाई यो कार्यक्रममा जोड्ने योजना रहेको उहाँले बताउनुभयो ।
यस आर्थिक बर्षको साउन देखि माघ सम्म गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थाबाट २३ जना बालिकाको जन्म भएको स्वास्थ्य शाखा प्रमुख धनकुमार खड्काले जानकारी दिनुभयो । जस मध्ये ६ चेपाङ बालिका जन्मिएका छन् ।
इच्छाकामना गाउँपालिका भित्र ५ ओटा स्वाथ्यचौकी छन् । ती मध्ये ४ ओटामा मात्र वर्थिङ सेन्टर रहेको स्वास्थ्य शाखा प्रमुख धनकुमार खड्काले जानकारी दिनुभयो । इच्छाकामना १ हातिवाङ, ४ को कुरिनटार, ६ को चण्डिभञ्ज्याङ र ७ को दाहाखानीमा वर्थिङ सेन्टर रहेका छन् ।
भिडियो हेर्नुहोस्