काठमाडौं,२२ फागुन । टीकापुर घटनामा आरोपी रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल आक्रोशित बनेको छ ।
सो पार्टीको बुधबार बसेको आकस्मिक बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
राजपाले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई लगाइएको मुद्दा फिर्ता लिइ सांसदको हैसियत काम गर्न दिन सरकारसँग माग गर्दै आएको थियो । सो बमोजिम सरकारले चौधरीलाई केही महिना पहिले सपथ लिने व्यवस्था मिलाएपछि अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निलम्बित अवस्थामा थिए । चौधरी राजपाको कोटामा कैलाली क्षेत्र नम्बर १ बाट संघीय सांसदमा निर्वाचित भएका थिए ।
राजपाले आकस्मिक बैठकपछि जारी गरेको विज्ञप्तिमा फैसलाबाट पार्टी स्तब्ध र मर्माहित भएको उल्लेख गरिएको छ ।
पार्टी अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले जारी गरेको विज्ञप्तिमा सरकारको एक वर्षे कार्यकाल पूर्णत असफल रहेको ठहर गर्दै सरकारलाई समर्थन दिइरहनुको औचित्य सकिएकाले आजकै मितिदेखि समर्थन फिर्ता लिने निर्णय भएको उल्लेख छ ।
बैठकले शोषण, उत्पीडन र विभेदका विरुद्ध पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत विचार मिल्ने अधिकारवादी एवम् पहिचानवादी संगठनलाई एकता, मोर्चा एवम् सहकार्यका लागि आह्वान पनि गरेको छ ।