चितवन, १८ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ प्रवेश गर्ने नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने भएको छ ।

फागुनमा निर्माण पूरा गरेर फागुन संचालनमा ल्याउने लक्ष्य राखिएको पुल दुई महिना ढिलो गरी संचालनमा ल्याउन लागिएको हो ।त्बतब

चैत मसान्तसम्म संरचना निर्माण सक्ने र बैशाख १ गतेबाट संचालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दिपक भट्टराईले जानकारी दिए । उनका अनुसार अधिकांश संरचना तयार भैसकेको छ । अहिले ब्रिजमा ढलान भैरहेको छ ।

केही दिनभित्रै ढलान सकिने पुल महाशाखाले जनाएको छ । ढलान सकिएपछि रेलिङ हाल्ने,एप्रोच रोड बनाउने लगायतका काम सुरु गरिने छ । चैतसम्ममा ब्रिज तयार पार्ने र बैशाखमा उद्घाटन गरेर संचालनमा ल्याईने भट्टराईले जानकारी दिए ।

मुग्लिन र तनहुँ जोड्ने निर्माणाधीन आरसिसि मोटरेवल आर्क ब्रिज पुरा भएपछि दुईतर्फी आवगमनमा सहज हुने अपेक्षा गरिएको छ ।

विश्व बैंकको १२ करोड रुपैयाँ लागतमा यो पुल निर्माण गर्न लागिएको हो । १ सय ६० मिटर लामो पुल ११ मिटर चौडाईको हुनेछ । २०७१ सालबाट निर्माण सुरु गरिएको थियो ।

चीनमा पढेर आएर नेपाली इन्जिनियरहरुले डिजाईन गरेको दोस्रो आर्क ब्रिज हो । पहिलो चोभारमा ट्रायलका रुपमा निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि नेपाली इन्जिनियरहरुले पनि आर्क ब्रिज डिजाईन गरेर निर्माण गर्न सक्छन् भन्ने सावित हुने छ ।

आर्क ब्रिज सामान्य पुलभन्दा तुलनात्मक रुपमा बलियो र टिकाउ मानिन्छ भने लागत समेत कम लाग्छ । आर्क ब्रिजमा सवारीसाधनले उत्पन्न गर्ने कम्पन शून्य बराबर हुन्छ ।

यो पुल अफ्ठेरा ठाउँहरुमा सहजै निर्माण गर्न सकिने प्रकृतिको हुन्छ । पहाडका अफ्ठेरा ठाउँहरुमा निर्माण गर्न सामान्य पुलको तुलनामा सहज हुने भएकाले यो डिजाईन र प्रविधि नेपालमा उपयोगी मानिएको छ ।