तुलमान गुरूङ
इच्छाकामना, १७ फागुन । जाइथलीकी गंगा चेपाङ अहिले ११ वर्षकी भइन् । तर, जिम्मेवारी भने एउटी आमाको भन्दा कम छैन उनको । चार वर्ष र डेढ वर्षका दुई जना बहिनीहरुको हेरचाहमा खटिनुपर्ने बाध्यता छ ।
कापी, किताबको झोला बोकेर विद्यालय जानुपर्ने उमेरमा उनी बहिनीहरुको हेरचाहमा बस्न बाध्य छिन् । फुर्सदको समयमा करिब आधा घन्टा हिँडेर कोलभञ्ज्याङस्थित राष्ट्रिय आधारभूत विद्यालय पुग्छिन् । चार कक्षामा पढ्दै गरेकी उनी घरको समस्याले नियमित विद्यालय भने जान पाउँदिनन् ।
‘स्कुल त जान मन लाग्छ, तर जानै पाउँदिनँ’, गंगा भन्छिन्, ‘बुबा कुल्ली कामका लागि बाहिर जानुहुन्छ, आमा गाई चराउन र मेलापात गर्न जानुहुन्छ, त्यही भएर बहिनीहरुलाई मैले नै हेरचाह गर्नुपर्छ ।’
घरमा अभिभावकको चेतनास्तर कमजोर हुनुले गंगाले पढ्न मन भएर पनि नियमित विद्यालय जान सकेकी छैनन् । घरको आर्थिक स्थिति बलियो नहुँदा कापीकलम किन्ने पैसा नभएकोले मन भएर पनि राम्रोसँग पढ्न नपाएको उनले गुनासो गरिन् । पढ्ने वातावरण नभएकै कारण उनको पढाइ बीचैमा छुट्ने सम्भावना बढ्दै गएको छ ।
कसैले पढाइदिने जिम्मा लिए पढ्न जाने उनको सोच छ । तर, घरमा आमाबुबाले के भन्नुहुन्छ भन्ने अर्को चिन्ता छ उनलाई । ‘आमा मेलापातमा जाँदा गाई चराउन र घाँसदाउराका लागि जंगल पनि जानुपर्छ’, उनी भन्छिन् । जसोतसो कक्षा ५ सम्मको पढाइ पूरा गरे पनि त्यसपछि पढ्ने ठाउँ नै छैन । त्यसैले पनि पढ्ने रहर पालेर बहिनीहरुको हेरचाहमा दिन बिताउँदै आएकी छिन् उनी ।
इच्छाकामना गाउँपालिकाको वडा नं १ मा पर्ने जाइथली, भाराङ, थाप्राङ, साप्रेनीलगायतका अधिकांश चेपाङ बालबालिकाको पीडा हो यो । गंगाजस्ता कयौँ चेपाङ बालबालिका अभिभावक सचेत नभएकै कारण अझै पनि विद्यालय जानबाट वञ्चित छन् ।
पढ्ने मनै भएका र फुर्सदमा भएका विद्यार्थीहरु ५ कक्षासम्मको पढाइ पूरा गरिसकेपछि फेरि ५ कक्षामै पढ्दै आएका छन् । नजिकमा माथिल्लो कक्षासम्मको पढाइ हुने विद्यालय नहुनु र घरको आर्थिक एवम् चेतनाको समस्याले गर्दा विकटका चेपाङ बालबालिका पढाइबाट वञ्चित भएका छन् । आजको चितवनपोष्टमा खबर छ ।