चितवन, २५ माघ । गैंडामाथि चढेर तस्वीर खिच्ने इुवालाई निकुञ्जले सचेत गराएको छ । बिहिबार ती युवक चढेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । सोही तस्वीरको अधारमा चितवन राष्ट्रिय निकुञ्जले खोजी गरी २४ घण्टाभित्र नबित्दै उनको पहिचान गरेको हो । गैंडामाथि चढ्ने रत्ननगरपालिका–६ सौरहाका १४ वर्षीय अनुप महतो रहेका निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।
गत सालको बाढीले बगाएर घाईते भएको सो गैंडालाई निकुञ्जले उद्धार गरी सौराहा क्षेत्रमा ल्याएर छोडेको घिमिरेले बताए । घिमिरेले ती व्यक्तिलाई सचेत गराई तारेखमा छोडिएको र आवश्यक कारवाहीको तयारी भइरहेको जानकारी दिए ।
गैंडालाई नै देखाएर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने क्षेत्रमा यस्तो गतिविधि हुनु दुःखद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले बताए ।
क्षेत्रीय होटल संघ, चितवन सौराहाका अध्यक्ष सुमन घिमिरले व्यक्तिको विषयमा आफुलाई जानकारी नभएको बताए । उनले टाढैबाट हेर्नुपर्ने गैंडालाई चढेको फोटोले नराम्रो सन्देश प्रवाह गरेको भन्दै सौराहा आउने पर्यटक र स्थानीयलाई यस विषयमा सजग बनाईएको बताए ।