काठमाण्डु, २३ माघ । नेपाल दूरसञ्चारबाट लिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको मोबाइल कनेक्सन टेलिकमको वार्षिकोत्सवकै दिन काटिएको छ ।
टेलिकम कम्पनीमा रुपान्तरण भएको १५ वर्ष पुगेको अवसरमा माघ २२ गते वार्षिकोत्सव समारोहको आयोजना गरिएको थियो । कार्यक्रम ११ बजे शुरु हुने र मन्त्री पनि सोही समयमा आउने भनिए पनि करिब ४५ मिनेटपछि मात्र आइपुगेका थिए । शुभकामना मन्तव्य दिने क्रममा उनले भने, ‘बिरामी भएका कारण समयमै आउन सकिनँ, हिँड्ने बेला मोबाइल हेर्दा एमडीका धेरै फोन आएका रहेछन् । फोन गर्न खोज्दा पैसा नतिरिएका कारण निषेध गरिएको पो भन्छ ।’
‘आफ्नै मोबाइल काटिँदा पनि मैले अनौठो मानेको छैन, त्यसैगरी कर्मचारीले पनि पद्धति बसाउने गरी इमान्दारीसाथ काम गर्नुहोस्,’ उनले थपे । विभागीय मन्त्रीकै फोन काटिएको सुनेर दर्शकदीर्घामा हाँसोको फोहरा छुटेको थियो । जनआस्था साप्ताहिकमा खबर छ ।